पोखरा ।
पोखराको राष्ट्रबैंक चोकदेखि सृजनाचोकसम्म सडक डिभिजन कार्यालय पोखराले ‘बस बे’ निर्माण गरेको छ । यात्रुबहाक बसमा यात्रा गर्ने यात्रु ओराल्ने र चढाउने प्रयोजनका लागि ‘बस बे’ निर्माण गरिएको हो । निस्चित ठाउँ तोकेर यसरी निर्माण गरिएको ‘बस बे’ मा नै बस रोकेर यात्रु ओराल्ने चढाउने गर्नुपर्नेछ । बसले सो क्षेत्रमा जहाँपायो त्यहिँ यात्रु ओराल्न र चढाउन पाउनेछैन भने, यात्रुपनि ‘बस बे’ मै पुगेर बसको प्रतिक्षा गर्नुपर्नेछ ।
एक करोड ७ लाखको लागतमा नालासहित ६ वटा ‘बस बे’ निर्माण भएका सडक डिभिजन कार्यालय पोखराका प्रमुख नवराज बास्तोलाले जानकारी दिए । उनका अनुसार २६ कार्तिक २०८१ मा निर्माण सम्झौता गरेर टीका निर्माण सेवा प्रालिले ‘बस बे’ निर्माण गरेको हो । मापदण्ड अनुरु ४५ मिटर लम्बाई हुनुपर्ने भएपनि चौताराको संरक्षण गर्नुपर्ने भएकाले थोरै तलमाथि गरिएको उनले बताए ।
वाइचोक, रत्नचोक, पशुपति मन्दिर र सृजनाचोक नजिक गरेर ६ वटा ‘बस बे’ निर्माण गएिको हो । अधिकांश ‘बस बे’ मा यत्रु ओराल्ने र उकाल्ने संकेतयुक्त बोर्ड, अन्य सवारीसाधनका लागि नो पार्किङको बोर्ड राख्ने र आवस्यक मार्किङको काम भएको छ ।
पोखरा महानगरले यसरी बनाइएको ‘बस बे’ को साइडमा ओतसहितको प्रतिक्षालय बनाउने छ । जसलेगर्दा यात्रुलाई प्रतिक्षा गर्न सहज हुने र यात्रु सुरक्षित रुपमा यात्राका लागि सहज हुने अपेक्षा गरिएको छ । त्यसका लागि महानगरसंग समन्वय भइरहेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । यस्ता ‘बस बे’ पोखरा महानगरका मुख्य सडकहरुमा एक सय वटा निर्माण गर्नुपर्ने प्रमुख बास्तोलाले बताए । यसोगर्दा पोखराको ट्राफिक व्यवस्थापनमा सहयोग पुग्नुका साथै यात्रु सुरक्षित हुने उनको भनाई थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्रा एवं प्रहरी वरिष्ठ नायव निरीक्षक किरण रानाभाटले यस्ता ‘बस बे’ निर्माण हुँदा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने बताए । यसलाई कार्यान्वयन गर्न सक्दा निकै नै उपयोगी हुने धारणा राखे । यस्ता ‘बस बे’ पोखराका अन्यत्र स्थानमा पनि निर्माण गर्नुपर्ने उल्लेख गरे ।
‘बस बे’ बनाउनका लागि नागरिक समाज र स्थानीय जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेलेको चर्चागर्दै नागरिक अभियान्ता एवं नागरिक समाज कास्कीका संस्थापक रामबहादुर पौडेलले अब यसको सफल कार्यान्वनका लागि सबै लाग्नुपर्ने बताए ।
उनले ‘बस बे’लाई यात्रु ओराल्ने र चढाउने प्रयोजनका लागि मात्र उपयोग गर्नका लागि आग्रह गर्दै ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि हातेमालो गर्न नागरिक समाज सधैं तयार रहेको बताए । ‘काम राम्रो भएको छ । अब यसको सहि उपयोग गर्न सबै लाग्नुपर्छ । ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि हाम्रो तर्फबाट पनि आवश्यक सहयोग रहन्छ’ उनले भने ।















