काठमाडौं।
नेकपा बहुमत निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन९क्रान्तिकारी०ले जनपक्षीय शिक्षा ऐनको माग गर्दै प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा सोमबार विद्यार्थीहरूले पोशाकमै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा प्रहरीले उपाध्यक्षसहित ९ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । अध्यक्ष विरेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता–कार्यकर्ताको तत्काल रिहाइको माग गरेका छन् ।
देशव्यापी विद्यार्थी प्रदर्शनको कार्यक्रमअन्तर्गत काठमाडौँको माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको क्रान्तिकारीको आरोप छ । प्रहरीले ‘शिक्षाको व्यापार गर्ने कायर माफियाहरूको दलाल सरकार’ को निर्देशनमा दमन गरेको आरोप लगाइएको छ ।
कुनै पनि दमनले विद्यार्थी आन्दोलनलाई दबाउन नसकिने भन्दै निःशुल्क, समान र वैज्ञानिक शिक्षासहितको जनपक्षीय शिक्षा ऐन जारी गराउन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी दिएको छ ।















