काठमाडौं ।
महिनावारी भएका बेला छाउगोठमा रहेकी एक महिलाको सर्पको डसाइबाट ज्यान गएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका(१ निगालीकी २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढीस्थित सेती प्रदेशिक अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको ज्यान गएको हो । ‘राति खाना खाएर छाउगोठमै सुतेका बेला सर्पले डसेको रहेछ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले भने ।
उनका अनुसार शुक्रबार राति छाउगोठमा सुतेका बेला सर्पले डसेको थियो । स्थानीयले राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । उनको उपचारकै क्रममा ज्यान गएको हो ।
गत वर्ष वडा कार्यालयले उक्त क्षेत्रमा छाउगोठ भत्काउने अभियान पनि चलाएको थियो ।














