पोखरा ।
पोखरा–१७ स्थित छोरेपाटन माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा ९बहुमत० निकट अखिल (क्रान्तिकारी) ले कालोमोसो दलेका छन् ।
पहारीले विद्यालयले भोगचलन गर्दै आएको पातले छाँगो महानगरको मिलेमतोमा निजी कम्पनीलाई ठेक्कामा दिएको भन्दै सांकेतिक कारबाही स्वरुप उनलाई कालोमोसो दलेको अखिल क्रान्तिकारीले विज्ञप्ती सार्वजनिक गर्दै जानकारी दिएको छ ।
विद्यालयको आयश्रोतको मुख्य स्रोत नै पाले छाँगो रहेको बताउँदै विगत लामो समयदेखि पटकपटक यसमाथि हस्तक्षेप र अतिक्रमणको प्रयास भइरहेको अखिल क्रान्तिकारीले बताएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहारीले आफ्नो स्वार्थका लागि माफियासँग मिलेर पाले छाँगो पोखरा महानगरपालिका हुँदै निजी कम्पनीलाई ठेक्का दिने सम्झौता गरेको भन्दै उनलाई आज कालोमोसो दलेको अखिलले स्पष्टिकरण दिदैं विज्ञप्तिमा उल्लेख गरेको छ ।
उक्त सम्झौतामा हस्ताक्षक गर्ने विद्यालयका प्रध्यायानाध्यापक डिल्लीराम शर्मालाई तत्काल राजीनामा दिन अखिल क्रान्तिकारीले चेतावनी दिएको छ । राजीनामा नदिए संगठनले कडा कारबाही गर्न बाध्य हुने समेत बताएको छ ।

महानगरपालिकाले ४ किस्ताको दरले वार्षिक ३ करोड विद्यालयलाई भुक्तानी दिने सम्झौता भएकोमा २ किस्ता विद्यालयलाई भुक्तानी नगर्दासमेत विद्यालय व्यवस्थापन समिति चुप बसेको विज्ञप्तिमा जनाइएको छ ।
पातले छाँगोसम्बन्धि ठेक्का सम्झौता तत्काल रद्द गरेर विद्यालयले नै भोगचलन गर्ने गरि पुन सुचारु गर्न संगठनले माग गरेको छ ।
यस्तै पालते छाँगोको ठेक्का प्रक्रियामा रहेको सेती क्यान्योन प्रालिका अध्यक्ष करकेन कुमार गुरुङलाई ठेक्कासम्बन्धी कामकारबाही तत्काल रोक्नसमेत संगठनले अनुरोध गरेको छ ।
यस अघि रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले पातले छाँगो विषयकै कारण राजिनामा दिन बाध्य भएका थिए ।छोरेपाटन माविले विगत करिब ४८ वर्षदेखि पातले छाँगोको भोगचलन गर्दै आएकोमा २०३४ सालमा पोखरा उपत्यका नगर विकास समितिले संरक्षण र संर्वद्धन गर्ने गरि विद्यालयलाई हस्तान्तरण गरेको थियो । २०३५ सालदेखि स्वदेशी तथा विदेशी पर्यटकबाट प्रवेश शुल्क लिई दृश्यावलोकन गराउँदै विद्यालयले भोगचलन गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फोटो : राजेन्द्र अधिकारी















