राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका करिब एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक गरेको जनाएको छ ।

पार्टी सङ्गठनमा आबद्ध भएर सम्बन्धित वडा, नगर, क्षेत्र तथा केन्द्रमा रही सक्रिय राजनीतिमा सहभागी सदस्यको सदस्यता अद्यावधिक गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, यही मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका सन्दर्भमा सदस्यता अद्यावधिक गरिएको हो । विगतमा उक्त दलका करिब डेढ लाख क्रियाशील सदस्य थिए ।

नेता श्रेष्ठका अनुसार, पार्टीका देशभरका क्रियाशील सदस्यबाट महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । त्यस सिलसिलामा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट तीन महिलासहित नौ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ ।

पार्टीको केन्द्रीय महाधिवेशनका लागि ७६ जिल्ला अधिवेशन तथा पाँच प्रदेश अधिवेशन सम्पन्न गरिएको छ । विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्ष पदेन प्रतिनिधिका रूपमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

नेता श्रेष्ठका अनुसार, पालिका, प्रदेशसभा, सङ्घीय निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि भएका छन् ।

सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका युवा कम्तीमा एक जनाको सहभागिता सुनिश्चित गरिएको पार्टी नेता केशव श्रेष्ठले जानकारी दिए । रासस

  • १३ मंसिर २०८३, आईतवार ११:४४ प्रकाशित