म्यानमारमा विवाह समारोहमा सेनाको हवाई आक्रमण, २१ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

म्यानमारमा विवाह समारोहमा सेनाको हवाई आक्रमणमा परी कम्तीमा २१ जनाको ज्यान गएको छ । आक्रमणमा कम्तीमा ३५ जना घाइते भएका छन् ।

शनिबार दिउँसो देशको दक्षिणी शान राज्यको मो बाइ गाउँमा रहेको एक विवाह समारोह स्थलमा भएको आक्रमणमा कम्तीमा २१ जनाको ज्यान गएको पुष्टि भएको छ भने कम्तीमा ३५ जना घाइते भएको उद्धारकर्मीहरूले बताएका छन्।

म्यानमारको निर्वासित राष्ट्रिय एकता सरकार (एनयूजी)का अनुसार यसअघि बिहीबार मध्य म्यानमारको मागवे क्षेत्रको इन योन गाउँमा रहेको एक विद्यालयमा हवाई आक्रमण भएको थियो । उक्त आक्रमणमा विद्यार्थी, युवा बौद्ध भिक्षु र शिक्षकसहित कम्तीमा २० जना सर्वसाधारणको ज्यान गएको थियो ।

म्यानमारको सैन्य नेतृत्वको सरकारले यी आक्रमणहरूबारे कुनै टिप्पणी गरेको छैन ।सेनाले शनिबार साँझ पश्चिमी म्यानमारको राखिन राज्यको म्रौक(यू शहरमा पनि हवाई आक्रमण गरेको थियो ।

स्थानीय समय अनुसार राति शहरको एक आवासीय क्षेत्रमा बम विस्फोट भएको थियो। रिपोर्टहरूले आक्रमणमा १० भन्दा बढी व्यक्तिको ज्यान गएको र करिब २० जना घाइते भएको संकेत गरेको छ ।

यो क्षेत्र देशको सैन्य शासन विरुद्ध लड्ने सबैभन्दा बलियो विद्रोही सेनाहरू मध्ये एक, अरकान आर्मी (एए) द्वारा नियन्त्रित छ।

२०२१ मा पूर्व नेत्री आङ सान सुकीको नेतृत्वमा निर्वाचित नागरिक सरकारलाई अपदस्थ गरी देशलाई लामो गृहयुद्धमा फसाएको सैन्य विद्रोहपछि देशभरि लगभग दैनिक सैन्य हवाई आक्रमणहरू भइरहेका छन्।

  • १३ मंसिर २०८३, आईतवार १२:०५ प्रकाशित