जनकपुरधाम ।
जनकपुरधाम र भारतको अयोध्याबिचको धार्मिक यात्रालाई सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयू–कमला एक्सप्रेस रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको एक हप्ता नबित्दै उक्त रेल सेवा व्यावसायिक रूपमा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय रेल्वेले टिकट बुकिङ खुला गरिसकेको छ भने नेपालतर्फ पनि बिहीबार (आज) देखि टिकट बिक्री सुरु गर्न लागिएको छ ।
नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले केही प्राविधिक काम बाँकी रहे पनि आज दिउँसोदेखि जनकपुरधाम रेल्वे स्टेसनबाट टिकट लिन सक्ने व्यवस्था मिलाइएको बताए । ‘अनलाइनबाट टिकट लिन चाहनेहरूले भारतकै संयन्त्रबाट लिन सक्नेछन्’, उनले भने, ‘नेपालबाटै टिकट लिन चाहनेहरूले जनकपुर स्टेसनमा आएर टिकट लिनुपर्ने हुन्छ ।’
सरयू–कमला एक्सप्रेस निर्धारित समयतालिकाअनुसार प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्किनेछ । साप्ताहिक रूपमा सञ्चालन हुने यो रेलले विशेषगरी माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्याको दर्शन गर्न चाहने दुवै देशका तीर्थयात्रीलाई सहज हुने अपेक्षा गरिएको छ ।
रेलमार्गबाट भारत र नेपालका दुई महत्त्वपूर्ण प्राचीन सहर एकआपसमा जोडिने भएपछि दुवै देश आर्थिक, सांस्कृतिक तथा सामाजिक रूपमा समेत जोडिने भएका छन् ।
श्रेणीअनुसार ३६५ देखि १ हजार ३ सय ६० भारतीय रुपैयाँसम्म भाडा
भारतीय रेल्वेले यात्रुको सुविधाअनुसार चार श्रेणीमा भाडादर निर्धारण गरेको छ । शयनयान श्रेणीका लागि ३६५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय इकोनोमी श्रेणीका लागि ८८५ रुपैयाँ, वातानुकूलित तृतीय श्रेणीका लागि ९६५ रुपैयाँ र वातानुकूलित द्वितीय श्रेणीका लागि १ हजार ३६० भारतीय रुपैयाँ भाडा तोकिएको भारतको रेल्वे मन्त्रालयले सार्वजनिक गरेको छ ।













