काठमाडौं ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले विगतमा भएका सहमतिहरू कार्यान्वयन नभए २६औँ सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएका छन् ।
आज बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा।केसीले भोलि शुक्रबारसम्म सहमति विपरीतका निर्णय नसच्याइए र विगतका सम्झौता कार्यान्वयन नगरिए आफू सत्याग्रहमा बस्न बाध्य हुने बताएका हुन् ।
विज्ञप्तिमा २४औँ र २५औँ सत्याग्रहका क्रममा चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जबाफदेहिता, सुशासन र सामाजिक न्यायका मागसहित सरकारसँग सहमति भए पनि सरकारले उल्टै ती सहमति उल्लङ्घन गरेको उल्लेख छ ।
सहमतिअनुसार काम गर्नुको सट्टा सरकारले जबाफदेहिता र सुशासनसम्बन्धी सहमतिको मर्म विपरीत छानबिन समिति गठन गरेको र गल्ती सच्याउन गरिएको आग्रहलाई समेत बेवास्ता गरेको डा.केसीको आरोप छ ।
स्वास्थ्य, शिक्षा, जबाफदेहिता र सुशासनको नारासहित निर्वाचित भएको सरकारबाटै यिनै विषयमा भएका सहमतिहरू बारम्बार उल्लङ्घन हुनु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण रहेको उनले बताएका छन् ।
विज्ञप्तिमार्फत उनले सहमतिको पालना गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व भएको स्मरण गराउँदै यथाशीघ्र माग सम्बोधन गर्न ध्यानाकर्षण गराएका छन् ।












