नेपालमा चक्रवात ‘अर्नब’ को प्रभाव : चार प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । साथै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा अधिकांश बादल लाग्नेछ । बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शुक्रबार देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ ।

  • १२ कार्तिक २०८३, बिहीबार ०७:०४ प्रकाशित