इतिहास बुझेर जोखिम न्यूनीकरणका उपाय अपनाउन प्रोफेसर साकाईको प्रस्ताव

यी हुन् उनका चार प्रस्ताव, पोखराले अनुसन्धानलाई सम्पत्तिका रूपमा ग्रहण गर्छ : मेयर आचार्य

केन्द्रभाग मिडिया

पोखरा ।

जापानी भूगर्भविद् प्रोफेसर हारुताका साकाईले पोखराको बीचभाग हुँदै बग्ने सेती नदीको उत्पत्ति, यसको भौगर्भिक बनावट र विभिन्न समयमा आएका विनाशकारी बाढीले निर्माण गरेका भू–आकृतिक संरचनाको अध्ययनलाई आधार बनाएर भविष्यका लागि विपद् न्यूनीकरणका उपाय अपनाउन प्रस्ताव गरेका छन् । उनले सेती नदीको उत्पत्ति र अन्नपूर्ण क्षेत्रबाट आएको विनाशकारी गेग्रान प्रवाहबाट पोखराको उत्पत्ति देखि नदीको तल्लो तटीय क्षेत्रमा बाढीले छाडेका गेग्रानका तह र तिनबाट बनेका भूगर्भीय संरचनाबारे वृत्तचित्रसहित प्रस्तुति दिँदै शुक्रबार यस्तो प्रस्ताव गरेका हुन् ।

प्रस्तुतिमा उनले सेती नदी आसपास विगतमा भएका ठूला पहिरो, पर्वतीय भूभाग भत्किने घटना र त्यसबाट उत्पन्न मलबा प्रवाह (ढुङ्गा, माटो र गेग्रान मिसिएको तीव्र बहाव) ले पोखराको भू–बनोटमा पारेको प्रभावबारे चर्चा गरेका थिए । विगतका प्राकृतिक घटनाको वैज्ञानिक अध्ययन नगरी भविष्यमा आउन सक्ने विपद्को जोखिम आकलन गर्न कठिन हुने उनको प्रस्तुतीकरणको मुख्य सन्देश थियो ।

प्रोफेसर साकाईले यसअघि पनि अन्नपूर्ण हिमशृङ्खलामा भएको विशाल पर्वतीय भूभाग भत्किने घटना र त्यसबाट उत्पन्न मलबा प्रवाहले पोखरा उपत्यकाको भू–बनोटमा पारेको प्रभावबारे वैज्ञानिक अनुसन्धान गरेका छन् । सन् २०२५ मा प्रकाशित उनको अनुसन्धानले पोखरा उपत्यकामा पाइने विभिन्न भूगर्भीय संरचनाको निर्माण प्रक्रिया र समयबारे नयाँ निष्कर्ष प्रस्तुत गरेको छ ।

उनले गरेको अनुसन्धानअनुसार पोखरा उपत्यकामा पाइने टल्लाकोट, घाचोक र पोखरा फर्मेसन फरक–फरक समयमा भएका भूगर्भीय घटनासँग सम्बन्धित छन् । अनुसन्धानले अन्नपूर्ण क्षेत्रमा भएको विशाल पर्वतीय भूस्खलन र त्यसबाट उत्पन्न मलबा प्रवाहको समय करिब १५ देखि १४ हजार वर्षअघिको हुन सक्ने निष्कर्ष निकालेको छ । त्यस्तै, पोखरा फर्मेसनको निर्माण मध्यकालीन समयमा भएको उल्लेख छ ।

यी हुन् उनका चार प्रस्ताव

प्रोफेसर साकाईले भविष्यमा हुन सक्ने प्राकृतिक विपद् रोकथाम तथा क्षति न्यूनीकरणका लागि चारवटा प्रमुख प्रस्ताव अघि सारेका छन् । पहिलो, नेपालका प्रमुख नदी प्रणालीमा विगतमा भएका ठूला पहिरो, पर्वतीय भूभाग भत्किने घटना र त्यसबाट उत्पन्न मलबा प्रवाहको भौगर्भिक अध्ययन गर्नुपर्ने उनको सुझाव छ । त्यसका लागि उपग्रह तथा हवाई तस्बिरको विश्लेषण, स्थलगत भौगर्भिक सर्वेक्षण र विगतका घटनाको समय निर्धारण गर्नुपर्ने उनले बताएका छन् । यसबाट विपद् दोहोरिने सम्भावित समय, कारण र प्रभाव क्षेत्र पहिचान गरी जोखिम नक्सा तयार गर्न सकिने उनको प्रस्ताव छ ।

दोस्रो, भविष्यमा भूभाग भत्किने सम्भावना रहेका संवेदनशील स्थानमा निगरानी तथा पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्ने उनले बताएका छन् । त्यसअघि उपयुक्त स्थान छनोटका लागि विस्तृत अध्ययन आवश्यक हुने उनको भनाइ छ ।

तेस्रो, विगतको जलवायु तथा वातावरणीय परिवर्तनको अभिलेख अध्ययन गर्नुपर्नेमा उनले जोड दिएका छन्। यसका लागि फेवाताललगायतका तालमा वैज्ञानिक विधिबाट माटो तथा अन्य अवसादका नमुना निकालेर विश्लेषण गर्नुपर्ने प्रस्ताव गरेका छन् । यस्ता नमुनाको अध्ययनले विगतमा भएका प्राकृतिक परिवर्तन र विपद्का संकेत पहिचान गरी भविष्यको जोखिम आकलन गर्न सहयोग पुग्ने उनको तर्क छ ।

चौथो, जोखिमयुक्त स्थान तथा गाउँबस्तीमा सुरक्षित स्थानान्तरण मार्ग पहिचान गरी पूर्वतयारी गर्नुपर्ने र स्थानीय बासिन्दालाई सहभागी गराएर नियमित अभ्यास सञ्चालन गर्नुपर्ने उनले सुझाव दिएका छन् ।

पोखराले अनुसन्धानलाई सम्पत्तिका रूपमा ग्रहण गर्छ : मेयर आचार्य

प्रोफेसर साकाईको अनुसन्धान र प्रस्तावलाई पोखराको भविष्यसँग जोडेर कार्यान्वयन गर्नुपर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् ।

साकाईको खोज तथा अनुसन्धान पोखराका लागि महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै आचार्यले महानगरले यसलाई सम्पत्तिका रूपमा ग्रहण गरेर आवश्यक काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले विगतमा पनि विभिन्नढंगले अध्ययनहरु भएका जानकारी दिँदै पोखरामा केही उच्च घरहरु बनाउन विगतमा अनुमति कताबाट प्राप्त भयो त्यो जानकारी नभएपनि अब भने अध्ययन विना नदिइने उनले प्रष्ट्याए ।

 

  • ११ मंसिर २०८३, शुक्रबार १६:१२ प्रकाशित