काठमाडौं ।
नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ। असोज २२ गतेदेखि तीन दिनसम्म चलेको पार्टीको प्रथम स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । सोही निर्णयअनुसार मनोनीत सदस्यहरूले आज शपथ लिन लागेका हुन् ।
शपथ लिने मनोनीत केन्द्रीय सदस्यहरूमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा। पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्बुहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहेका छन् ।
पार्टीको स्थायी कमिटी बैठकले गरेको मनोनयनपछि उनीहरू औपचारिक रूपमा केन्द्रीय कमिटीको जिम्मेवारीमा प्रवेश गर्नेछन् ।













