नवलपुरमा बस दुर्घटना : ६ जनाको ज्यान गुम्यो, १० जना घाइते

केन्द्रभाग मिडिया

नवलपुर ।
नवलपुरमा भएको सवारी दुर्घटनामा परेर ६ जनाको ज्यान गुमेको छ । विनयी त्रिवेणी गाउँपालिका –२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गुम्नुका साथै १० जना घाइते भएका नवलपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार नेपालगञ्जबाट कामाडौं तर्फ जाँदै गरेको सो बस चालकले नियन्त्रण गुमाउँदा आज बिहान पौने ४ बजे सडकबाट नालामा पल्टिएर दुर्घटना भएको हो । उक्त बसमा चालकसहित १८ जना सवार रहेकोमा २ जना भने सकुशल छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा जाजरकोटको भेरीगंगा नगरपालिका –३ बस्ने ५० वर्षीय निर्जुङ खत्री रहेका छन् भने अन्य पाँच जनाको पहिचान खुल्न बाँकी छ ।

घाइते हुनेमा गोरखाका हरिशरण थापा, अछामका तेजेन्द्र प्रसाद भण्डारी, बर्दियाकी आकृति, सञ्जय थारु, लाल बहादुर कार्की, बाजुराका पवन बुढा, प्रेम बम, ललितपुरका अनोज खत्री, बाँकेका अस्लाम भगवान र सल्यानका अनिल बुढाथोकी रहेका छन् ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले बसमा सवार घाइतेहरूलाई उद्दार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ ।

 

  • १७ आश्विन २०८३, शनिबार ०८:१० प्रकाशित