सिन्धुलीको पलासेमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

केन्द्रभाग मिडिया

सिन्धुली ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

मङ्गलबार दिउँसो २ बजे जनकपुरबाट काठमाडौँ जाँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार सबै १४ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये नौ जनाको पहिचान खुलिसकेको छ भने बाँकी पाँच जनाको विवरण खुल्न बाँकी छ । पहिचान खुलेका घाइतेहरूमा धनुषाको शहीदनगर नगरपालिका–८ बस्ने सवारी चालक दीपक कुमार दास, शहीदनगर–७ की १७ वर्षीया रानी कुमारी मण्डल, शहीदनगर–२ का १४ वर्षीय पियुष गोहित, सोही ठाउँका १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन् ।

यसैगरी, ललितपुरको भैँसेपाटी बस्ने ३६ वर्षीया प्रियाङ्का साह र उनका तीन छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा ३ वर्षीया ओमी साह पनि घाइते भएका छन् ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो । अन्य पाँच जना घाइतेको विवरण सङ्कलन गर्ने कार्य भइरहेको र दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

  • १ मंसिर २०८३, मंगलवार १६:४३ प्रकाशित