काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही १८ असोज देखि गर्ने १५ औं महाधिवेशनको तयारी गरिरहेकैबेला सो पार्टीको इतर समूह देउवा पक्षले पनि समानान्तर अधिवेशन थालेको र यसका लागि आज वडा अधिवेशन गर्ने भएको हो ।
देउवा समूहले पनि १५औं महाधिवेशन आगामी २१ मंसिर देखि २३ मंसिरसम्मका लागि तोकेको छ । सोहीअनुसार नै यस समूहले यही २० असोजमा पालिका, २३ असोजमा प्रदेशसभा निर्वाचन क्षेत्रीय र ४ मंसिरमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर सोको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ ।
देशका ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतसमेत पठाइसकेको जानकारी सो पार्टीका नेता किरणराज पौडेलले दिए ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै अहिले महाधिवेशन गर्न नहुने माग देउवा पक्षको थियो तर संस्थापन पक्ष भने यही ३ असोज देखि नै महाधिवेशनमा होमिइसकेकाले इतर पक्षले पनि महाधिवेशनको कार्यतालिका नै तोकेर तयारी थालेको हो ।













