सुर्खेतमा सातै प्रदेशका अर्थमन्त्रीहरूको भेला सुरु

केन्द्रभाग मिडिया

सुर्खेत ।

वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशको वित्तीय अधिकार र अन्तरतह समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू भेला भएका छन् ।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सचिवहरूको सहभागिता रहेको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टेक राज पछाईको अध्यक्षतामा सुरु भएको बैठकको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले गरेका हुन् ।

बैठकमा प्रदेशहरूको आन्तरिक आय तथा राजस्व परिचालन, राजस्व बाँडफाँट, अन्तरसरकारी वित्तीय हस्तान्तरणको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका चुनौती र सुधारका उपायबारे छलफल हुने कार्यसूची छ ।

त्यस्तै, पूँजीगत खर्चमा सुधार, चालु खर्चमा मितव्ययिता, प्रदेशको कार्यक्षेत्रअनुसार आवश्यक जनशक्ति व्यवस्थापन, आयोजना छनोट तथा बजेट चक्रको प्रभावकारी कार्यान्वयनका विषयमा पनि छलफल हुनेछ ।

संविधान र कानुनले निर्दिष्ट गरेका वित्तीय जिम्मेवारी तथा अधिकार क्षेत्रको कार्यान्वयनका लागि तीन तहका सरकारबीच आवश्यक समन्वय र सहकार्यलाई बैठकले प्राथमिकतामा राखेको छ ।

बैठकमा विभिन्न प्रदेशका सचिवहरूले आ–आफ्नो प्रदेशको वित्तीय अवस्था, उपलब्धि, समस्या र सुधारका प्रयासबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

  • १६ कार्तिक २०८३, सोमबार १२:३४ प्रकाशित