डुम्रे–बेँसीसहर–चामे सडक खुलाउने कार्य तीव्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

पहिरो र बाढीका कारण अवरुद्ध बनेको डुम्रे–बेँसीसहर–चामे सडक खण्ड खुलाउन तीव्र रूपमा मर्मत तथा पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक विभागका अनुसार अवरुद्ध सडक आगामी शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ ।

सडक विभागले दिएको पछिल्लो अपडेट अनुसार बेँसीसहर–चामे खण्ड अन्तर्गत रामबजारमा खसेको पहिरो हटाएर यातायात सुचारु गरिएको छ । त्यस्तै, तिमाङदेखि कोतोसम्मको खण्डमा पनि पहिरो पन्छाउने काम निरन्तर भइरहेको छ ।

खोत्रोस्थित सडक बगाएको स्थानमा ‘ब्याक कटिङ’ र टेवा पर्खाल लगाउने काम भइरहेको र आज साँझसम्म त्यहाँ यातायात सुचारु गर्ने तयारी छ । सोही क्षेत्र नजिकैको कडा भीर फुटाउन नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङको काम समेत भइरहेको विभागले जनाएको छ ।

यसअघि फापर खेतमा सडक खुलाउन स्थानीय व्यक्तिको खेत कटिङ गर्नुपर्ने र क्षतिपूर्तिको मागका कारण काम रोकिएकोमा स्थानीय पालिका, जिल्ला प्रशासन लगायतका निकायसँग समन्वय गरी समस्या समाधान गरिएको छ ।

त्यसैगरी, बगरछाप क्षेत्रमा सडकमा थुप्रिएको लेदो तथा पहिरो हटाउने काम भइरहेको छ । बाढीले बगाएका काठे पुलहरू भएको ठाउँमा अस्थायी डाइभर्सन बनाएर पर्सिसम्म डुम्रे–बेँसीसहर–चामे सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइने सडक विभागले जानकारी दिएको छ ।

  • १४ आश्विन २०८३, बुधबार १४:०० प्रकाशित