गण्डकीसहित यी प्रदेशमा भारी देखि धेरैभारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको छ । यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने सम्भावना छ भने त्यसपछि आगामी १२ घण्टामा उत्तर–उत्तर पश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा साथै मधेस प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

आज राति देशभर अधिकांश बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभागका धेरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका र कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

  • ९ आश्विन २०८३, शुक्रबार ०९:४८ प्रकाशित