रसुवा बाढी : ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३५७ पुग्यो, ५ हजार ३२६ अझै सम्पर्कविहीन

केन्द्रभाग मिडिया

काठमाडौं ।

रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते अपराह्न १:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त तथ्य पुष्टि गरेको हो।

प्राधिकरणका अनुसार विभिन्न स्थानबाट शव फेला परेका छन्। जसमा चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ वटा शव तथा मानव अङ्गहरू फेला परेका छन्। फेला परेका शवमध्ये हालसम्म १०२ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ।

हालसम्म कुल ५ हजार ३२६ जना मानिसहरू सम्पर्कविहीन रहेका छन्। जसमा रसुवा जिल्लाबाट मात्रै २ हजार ८६० जना बेपत्ता छन्। बेपत्ता हुनेहरूमा रसुवाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ र बैङ्क तथा वित्तीय संस्थाका २६ जना कर्मचारी छन्। यसका अतिरिक्त नुवाकोटबाट करिब १ हजार ९८१ जना नेपाली नागरिक र करिब ५८७ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

विपद्पछि तीव्र पारिएको खोजी तथा उद्धार अभियानमार्फत हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका ६ हजार ८२७ जनाको उपचार भइरहेको छ। जसमध्ये नेपाली सेनाबाट ३ हजार ४०४, सशस्त्र प्रहरीबाट ३ हजार ९६ र विभिन्न १० वटा अस्पतालमा ३२७ जनाको उपचार गरिएको छ। अस्पतालमा उपचाररतमध्ये २४२ जना डिस्चार्ज भइसकेका छन्।

उद्धार कार्यका लागि नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २१ हजार ४०२ जना सुरक्षाकर्मी मैदानमा खटिएका छन्। वायुसेवामार्फत उद्धार र राहतका लागि नेपाली सेनाले १ हजार १५७ पटक, काठमाडौँबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरीले २०३ पटक हेलिकप्टर उडान भरेका छन्।

  • २३ भाद्र २०८३, मंगलवार १४:०० प्रकाशित