नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा ढुंगा खस्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत नाम्सी खोला पुल नजिकै माथिबाट ढुंगा खसेको छ । बिहीबार बिहान पुल नजिकैको ढिकबाट स–साना ढुंगाहरू सडकमा झरेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक डिभिजनले बिहान ९ः३५ बजे एक सूचना जारी गर्दै सडकमा खसेका ढुंगाहरू पन्छाउने तयारी भइरहेको जानकारी दिएको छ । स–साना ढुंगाहरू मात्र झरेको हुनाले त्यसलाई हटाएर सडक पूर्ण रूपमा सुचारु गर्न धेरै समय नलाग्ने कार्यालयले स्पष्ट पारेको छ ।

ढुंगा खसेर पुरानो सडक प्रभावित भए पनि हाल सोही स्थानमा निर्माण भएको नयाँ पुलबाट सवारी आवागमन नियमित रूपमा भइरहेको छ । त्यसैले यात्रुहरू बिचमै रोकिनुपर्ने अवस्था भने छैन ।

यद्यपि, सडक माथिबाट ढुंगा खस्ने जोखिम कायमै रहन सक्ने भएकाले उक्त सडकखण्ड प्रयोग गर्ने चालक तथा यात्रुहरूलाई विशेष सावधानी अपनाउन सडक डिभिजन भरतपुरले अपिल गरेको छ । कार्यालयले भनेको छ, ‘यात्रा गर्दा सडकको अवस्था हेरेर, आवश्यक परे रोकेर र बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।’

  • १८ भाद्र २०८३, बिहीबार १०:५५ प्रकाशित