पोखरा ।
पोखरा-दुबई नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा पोखराका प्रमुख पर्यटन व्यवसायीहरू र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) राजदूत अब्दुल्लाह बिन साइद मुबारक जरवान अल साम्सीबीच छलफल भएको छ।
पोखराबाट दुबई नियमित उडान भर्न सके पोखरा, गण्डकी प्रदेश र नेपालका लागि अर्को खुड्किलो बन्ने उनीहरुले बताएका छन् । पोखराका व्यवसायीले राजदूतसँग पोखरालाई दुबईजस्तो अन्तरास्ट्रिय सञ्जालमा जोडिनु ऐतिहासिक हुने भन्दै सहयोगका लागि अनुरोध गरे ।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नाटा गण्डकी प्रदेशका कार्यकारी सदस्य विजय पौडेल तथा नाटा केन्द्रीय अध्यक्ष भरतजंग पाण्डेलगायतले पोखरा-दुबई उडानले खोल्न सक्ने सम्भावनाबारे राजदूतसँग राखेका थिए ।
पर्यटन व्यवसायीहरूले पोखराबाट दुबईसम्मको नियमित उडान सुरु हुनु समग्र नेपाल, गण्डकी प्रदेश र पोखराको पर्यटन विकासका लागि ऐतिहासिक तथा महत्त्वपूर्ण उपलब्धि भएको बताए । यस उडानलाई निरन्तरता दिन र सफल बनाउन निजी क्षेत्र, गण्डकी प्रदेश सरकार, स्थानीय सरकार लगायत सबै सम्बन्धित पक्षहरूबाट पूर्ण सहयोग र प्रयास रहने प्रतिबद्धता व्यवसायीहरूले व्यक्त गरे ।
सो अवसरमा व्यवसायीहरूले दुबई जाने कामदारका लागि लागू गरिएको ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ प्रक्रिया तत्काल हटाउन सम्भव नभए पनि पर्यटक भिसामा दुबई जाने नेपाली यात्रुका लागि अनिवार्य गरिएको प्रहरी चारित्रिक प्रमाणपत्रको प्रक्रियालाई भने तत्काल हटाइदिन राजदूतसमक्ष विशेष अनुरोधसमेत गरेका छन् ।











