पोखरा ।
पोखरामा खोला तर्ने क्रममा बेपत्ता दुई बालकसहित तीन जनाको खोजी आज पनि जारी रहेको छ । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखरा महानगरपालिका २६ सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिक विजयपुर खोला तर्ने क्रममा दुई बालक बेपत्ता भएका थिए ।
पोखरा १४ विजय बस्तीबाट खोला तरेर सक्नेरीतर्फ आउँदै गर्दा उनीहरूलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बेपत्ता हुनेमा खोटाङ घर भई हाल पोखरा १४ चाउथेमा डेरा गरी बस्ने सुवास राईका १५ वर्षीय छोरा ओमन राई छन् ।त्यस्तै, स्याङ्जा घर भइ पोखराको छिनेडाँडा बस्दै आएका चन्द्रबहादुर गुरुङका १४ वर्षीय छोरा निक्सन गुरुङ पनि बेपत्ता छन् ।
हिजो दिनभर खोजी गर्दा नभेटिएपछि आज आइतबार पनि विहानै देखि खोजीका लागि टोली खटिएको प्रहरीले जनाएको छ ।
यसैबीच, शिशुवामा पनि खोला तर्ने क्रममा अर्का एकजना बेपत्ता भएका छन् । उनको पहिचान खुल्न बाँकी छ । उनको पनि खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।











