पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै लालटिन बोकेर प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

पत्रकार किशोर श्रेष्ठलाई विनाशरर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ ।

पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाइमा पत्रकारहरुले प्रदर्शन गर्दै धर्ना दिएका हुन् । त्यसक्रममा प्रहरी र पत्रकारहरुबीच केहीबेर घम्साघम्सी परेको थियो ।

शान्तिपूर्ण धर्नामा बस्न खोज्दा प्रहरीले रोकेपछि पत्रकारहरु आक्रोशित भएका थिए । उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’ भन्दै नारासमेत लगाए ।

कालोपट्टी बाँधेर प्रदर्शनमा सहभागीहरुले प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको भन्दै विरोध जनाए ।

उनीहरुले ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’, ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । कतिपयले बलिरहेको लाल्टिनसमेत बोकेर प्रदर्शन गरे ।

हिजो नेपाल प्रहरीले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको थियो । प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ ।

  • २८ श्रावण २०८३, बिहीबार ११:४६ प्रकाशित