पाल्पा जिप दुर्घटनाका घाइतेको नाम सार्वजनिक

केन्द्रभाग मिडिया

पाल्पा ।

पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडास्थित झुम्सा–सत्यवती धसमिघा भित्री कच्ची सडक खण्डमा पिकअप जिप दुर्घटना हुँदा घाइते भएका १० जनाको नाम सार्वजनिक भएको छ ।

घाइते हुनेमा पाल्पा तिनाउ गाउँपालिका–३ सत्यवतीका ३६ वर्षीय खामबहादुर डिसुवा मगर, स्याङ्जा कालीगण्डकी गाउँपालिका–१ का १० वर्षीय सन्तोष रेश्मी, पाल्पा तिनाउ गाउँपालिका–३ सत्यवतीका ५१ वर्षीय नरसिंह डिसुवा मगर र ३६ वर्षीया शर्मिला डिसुवा मगर रहेका छन्।

त्यस्तै रुपन्देही बुटवल उपमहानगरपालिका–१८ पोखराबारीकी ३६ वर्षीया दुर्गा थापा पनि घाइते भएका छन्। उनीसँगै रहेका ४ वर्षीया छोरा डेसिन थापा गम्भीर घाइते भएका छन्।

यस्तै पाल्पा माथागढी गाउँपालिका–५ का ४१ वर्षीय मनबहादुर गाहा, रुपन्देही बुटवल उपमहानगरपालिका–१८ मोतीपुरकी ३६ वर्षीया सपना राना, जिपका चालक पाल्पा माथागढी गाउँपालिका–५ का ३८ वर्षीय देवकुमार घर्ती र स्याङ्जा कालीगण्डकी गाउँपालिका–८ का ३५ वर्षीय भुवनसिंह रेश्मी घाइते भएका छन्।

उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। माथागढी गाउँपालिका–५ बमसिङडाँडाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप आज बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

  • २५ श्रावण २०८३, सोमबार १२:३४ प्रकाशित