पोखरा ।
पोखरामा सुविधासम्पन्न यात्रुबहाक बस सेवा सञ्चालनमा ख्यातिप्राप्त पोखरा जगदम्बा ट्राभल्सले थप दुईवटा सुविधासम्पन्न बस भित्र्याएको छ । भित्र्याइएका बसहरुबाट शनिबार विहान डेमो यात्रा गराइएको छ भने सोमबारबाट औपचारिक सेवा प्रदान गरिने पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशव प्रसाद अधिकारीले जानकारी दिए ।
पहिले भित्र्याइएका सुविधासम्पन्न बसभन्दा पनि अहिले भित्र्याइएका बसहरु अझ सुविधासम्पन्न रहेको उनले बताए । डबल सस्पेन्सन, फराकिलो सिट, थाइरेस सिट, स्तरीय, एसी, पानी राख्ने, मोवाइल चार्जगर्ने सुविधासहितको बसमा भित्रै ट्वाइलेटको व्यवस्था रहेको छ । चिया कफी, लञ्चसहितको सेवा रहेको बसको २१०० रुपैयाँ एकतफी भाडा निर्धारण गरिएको अधिकारीले बताए । उनका अनुसार लञ्च सुविधा लिन्न भन्ने यात्रुले १७ सय रुपैयाँमा सेवा लिन पाउनेछन् । सोमबार देखि पोखराबाट र काठमाडौंबाट एकसाथ बसले सुविधा दिनेछ । पोखरा विहान ७ बजे जगदम्बाको कार्यालय र ७ः३० बजे पर्यटन बस पार्कबाट बस छुट्ने छ । काठमाडौं बालाजुबाट ७ः३० बजे बस छुट्नेछ ।
नयाँ बस सञ्चालनमा ल्याउँदा प्रति बस एक करोड ५० लाख रुपैयाँका दरले थप ३ करोड लगानी गरिएको अधिकारीले जानकारी दिए ।
डेमो यात्रा गरेका गण्डकी प्रदेशका पूर्वसांसद एवं एमाले नेता राजिव पहारीले भित्रै सौचालय भएको र सुविधासमपन्न भएकाले सबै उमेरसमूहका लागि उपयुक्त रहेको बताए । मौसमका कारण हवाइयात्रा निस्चित समयमा नहुँदा विकल्पमा यस्ता बस उपयुुक्त रहेको उनको भनाई छ ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव सोभा गौतमले बसमा यात्रा गर्दा आफू सुविधासम्पन्न कुनै विदेशमा रहेको महसुस् गरेको प्रतिक्रिया दिइन । चरक मेमोरियल अस्पताल पोखराका प्रबन्ध निर्देशक कपिल पोखरेलले यो बसमा यात्रा गर्दा जहाजमा नै यात्रा गरेको अनुभव भएको बताए । पूर्वपत्रकार केशव भण्डारीले जेष्ठ नागरिकका लागि बस निकै उपयोगी रहेको बताए ।
पोखरा जगदम्बा प्रालिले पोखरामा यात्रुबहाक बस सेवा सञ्चालन गर्न थालेको धेरै नै भएपनि सन २०१३ देखी सुविधासम्पन्न बसहरु भित्र्याउँदै आएको छ । अहिले ३२ वटा बस मार्फत यात्रुलाई सेवा दिँदै आएको पोखरा जगदम्बाले निकट भविश्यमा नै क्याराभान गाडी सञ्चालन गर्ने तयारीमा छ । यातायात व्यवस्था विभागमा स्विकृतिको प्रक्रियामा रहेको सो गाडी अहिले निर्माण भइरहेको र दशैसम्ममा सञ्चालनमा ल्याइने पोखरा जगदम्बाका अध्यक्ष केशव अधिकारीले जानकारी दिए ।













