काठमाडौं ।
गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा १९३ जनाको ज्यान गएको, तीन जना बेपत्ता, एक हजार १६५ जना घाइते तथा पाँच हजार ८७ परिवार प्रभावित भएका छन् ।
उक्त अवधिमा सबैभन्दा बढी एक हजार दुई वटा आगलागीका घटना, सर्पदंशका ६७०, पहिरोका ६६२, हुण्डरीका ४७९, चट्याङका २३१, भारी वर्षाका २२६, वन्यजन्तु आक्रमणका २१८, बाढीका १९८ र वन डढेलोका १९१ घटना भएका छन् ।
यसैबीच, साउन १३ गते बिहान १०ः०० बजेदेखि साउन १४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न स्थानमा ३४ वटा विपद्जन्य घटना भएका प्राधिकरणले जनाएको छ । ती घटनामा १३ जना घाइते भएका छन् भने २३ जनाको उद्धार भएको छ । घटनामा रु ४१ लाख आठ हजार बराबरको क्षति भएको छ ।
सो अवधिमा सर्पदंशका आठ, आगलागीका आठ, भारी वर्षाका नौ, पहिरोका पाँच, बाढीको एक र वन्यजन्तु आक्रमणका तीन घटना भएका छन् ।













