पोखरा ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीलाई विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ । मंगलबार महासंघ गण्डकीका अध्यक्ष महेश बहादुर थापा (गणेश) सहितको टोली मन्त्रालयमा पुगेर मन्त्री नेपालीलाई ध्यानाकर्षण पत्रसहित ध्यानाकर्षण गराएको हो ।
राइड शेयरिङ्ग नियमावली संशोधन , हाल ईभीएसआरको कारणले रोकिएको कामको जरिवाना छुट , रात्रिकालिन पटकेको व्यवस्था, रुट निर्धारण तथा जिल्ला मुकाम कायम र गोरखा जिल्लामा देखिएको सार्वजनिक यातायातको अस्वस्थ प्रतिस्पर्धाको अन्त्यका लागि ध्यानाकर्षणसहित सहयोगका लागि सुझाव समेत पेश गरिएको महासंघ गण्डकीका सचिव अर्जुन पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेश सवारी तथा यातायात ऐन, २०७६ को दफा ८५ को व्यवस्था बमोजिम तथा गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०५० को नियम ४९ (३) बमोजिम मिटर जडित ट्याक्सीहरुको हकमा प्रदेश भर मार्ग इजाजत माग भएका एक जिल्ला मुकामतोकी मार्ग इजाजत जारी गर्न गराउन मन्त्रालयको ११ फागुन २०८० को पत्र अनुसार गण्डकी प्रदेशमा रहेका यातायात व्यवस्था कार्यलय सवारी कास्की, नवलपुर, तनहु र बाग्लुङ्गलाई परिपत्र भएकोमा पछिल्लो समयमा अन्य जिल्लाहरुको मुकाम लिई कास्कीको पोखरामा ट्याक्सीहरु केन्द्रित रही सेवा प्रवाह गर्दा कास्की जिल्ला मुकाम लिइएका ट्याक्सीहरु अत्यन्तै मर्कामा परेको उल्लेख गरिएको छ । यसैगरी गोरखा जिल्लामा अटो संचालन गर्ने रुट प्रशस्त नभएको, सिमित राजमार्ग मात्र कायम रहेको र पहाडी बाटो भएकाले दुर्घटनाको जोखिम बढने लगायतका विषयमा ध्यानाकर्षण गराइएको छ ।













