काठमाडौं ।
नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुनुअघि स्थानीयले विभिन्न माग राखेर विरोध प्रर्दशन गरेका छन् । सुरुङमार्गको उद्घाटनको तयारी भइरहँदा चन्द्रागिरि नगरपालिकामा भने स्थानीयले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका हुन्। नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले आफ्ना समस्याहरू सम्बोधन हुनुपर्ने भन्दै आज विरोध प्रर्दशन गरेका हुन् ।
पीडित बासिन्दाहरूले आकाशेपुल यथाशीघ्र निर्माण गर्नुपर्ने र सडक पेटी फराकिलो बनाउनुपर्ने माग राखेका छन् । आयोजनाबाट प्रभावित पीडितहरूलाई रोजगारी सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।
यस्तै जेब्रा क्रसिङ तथा ट्राफिक लाइटको उचित व्यवस्था हुनुपर्ने र फ्लाई ओभरको काम यथाशीघ्र सुरु गर्दै त्यसको नामाकरण ‘किसिपिडी फ्लाई ओभर’ गरिनुपर्ने माग संघर्ष समितिले राखेको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गर्न लागिएको हो। उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।













