गत वर्ष नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल वैदेशिक व्यापारको आकार १५.८८ प्रतिशतले बढेर २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको वार्षिक तथ्यांकअनुसार यो व्यापार हालसम्मकै उच्च हो ।

अघिल्लो वर्ष कुल व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँ बराबरको थियो ।यस अवधिमा नेपालको कुल आयात १६.२० प्रतिशतले बढेर २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा नेपालले १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।

यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा नेपालको निर्यातमा पनि १३.८१ प्रतिशतको सुधार आएको छ। गत वर्ष नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्ष २ खर्ब ७७ अर्ब ३ करोड २ लाख २ हजार रुपैयाँ थियो। आयातको तुलनामा निर्यातको वृद्धिदर केही सुस्त रहँदा व्यापार सन्तुलनमा चाप यथावत् देखिएको छ ।

आयात र निर्यात दुवै वृद्धि भए पनि आयातको हिस्सा ठुलो भएका कारण व्यापार घाटा बढेको तथ्यांकले देखाउँछ ।

कुल वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १६.६३ प्रतिशतले बढेको छ । २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको वार्षिक तथ्यांकअनुसार नेपालको कुल व्यापार घाटा १७ खर्ब ८१ अर्ब ८ करोड ८५ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

  • ७ श्रावण २०८३, बिहीबार १५:५१ प्रकाशित