काठमाडौं ।
पछिल्लो समयमा बर्डफ्लुका कारण गिरावट आएको अण्डाको भाउ उत्पादन घटेसंगै पुनः बढ्न थालेको छ । उत्पादन घट्दा र माग बढ्दा मूल्य बढ्न थालेको हो । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आज (बुधबार) बाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) भाउ बढेर ४५० रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ ।
मध्यम अण्डा ४२० रुपैयाँ वाट बढेर ४७० रुपैयाँ पुगेको छ ।सानो अण्डा ४१५ रुपैयाँ पुगेको छ । सबैमा प्रतिक्रेट ५० रुपैयाँ बढेको हो ।
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको जानकारी दिए । उनका अनुसार दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको छ ।
जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको ५५० रुपैयाँमा बिक्री भएकामा झरेर ४५० रुपैयाँमा आइपुगेको थियो ।
पोखरेलका अनसार एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्न आउँछ । प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उनले बताए । मूल्य बढे पनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन् ।
पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको बताए । बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी ब्यहोर्नुपरेको जनाउँदै उनले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्ने बताए ।













