पोखरा ।
पोखरा महानगरपालिकाको पहलमा हवाई यात्रीको सहजताको लागि सञ्चालन गरिएको सटल बस सेवा बन्द भएको छ ।
नयाँ वर्षको अवसरमा पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म हवाई यात्रीलाई मुख्य सडकसम्म आवतजावत गराउने उद्देश्यले विद्युतीय सटल बस सेवा सञ्चालन गरेको थियो । सञ्चालन भएको तीन महिनामै दुवै विद्युतीय सटल बस असार मसान्तमा सम्झौता सकिएपछि काठमाडौं फिर्ता लगिएको छ ।
महानगरपालिकासँगको सम्झौता अवधि सकिएको र थप सञ्चालनबारे कुनै कुरा नभएकाले गाडीहरू फिर्ता लगिएको बताइएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने यी बसमा यात्रीको चाप एकदमै न्यून थियो ।
यात्रीहरूका लागि यो सेवा पूर्ण रूपमा निशुल्क गरिएको थियो । सटल बस सञ्चालन गर्दा लाग्ने चालक, सहचालक, विद्युतीय ऊर्जा तथा मर्मतसम्भारको खर्च पोखरा महानगर, कृषि विकास बैंक र कामना सेवा विकास बैंक लिमिटेडले व्यहोर्ने सम्झौता भएको थियो ।
काठमाडौंको महानगर यातायात प्रालिसँग महानगरले अल्पकालीन परीक्षण परियोजनाका रूपमा असार मसान्तसम्मका लागि २ वटा बस उपलब्ध गराउने समझदारी भए अनुसार बस सेवा सञ्चालन भएको थियो ।
तर दीर्घकालीन रूपमा बस चलाएर प्रालिले पाउने थप व्यावसायिक लाभ वा भाडाको सुनिश्चितता नभएकाले निरन्तर सेवा दिन आर्थिक रूपमा सम्भव नभएको कम्पनीले जनाएको छ ।
‘













