स्याङ्जा ।
स्याङ्जामा असार मसान्तसम्म ८२.२९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जिल्लाका अधिकांश उत्तरी भेगमा रोपाइँ सकिए पनि दक्षिण–पश्चिमी क्षेत्रका केही फाँटमा भने अझै रोपाइँ जारी छ ।
कृषि विकास कार्यालय स्याङ्जाका अनुसार यस वर्ष जिल्लामा धान रोपाइँ हुने अनुमानित १३ हजार ६८५ हेक्टर क्षेत्रफलमध्ये ११ हजार २५० हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ ।
कार्यालयका कृषि अधिकृत नारायण पाठकका अनुसार कालीगण्डकी नदी आसपासका चापाकोट र गल्याङ नगरपालिकाका फाँट, ज्याग्दीखोला तथा आँधीखोला किनारका केही क्षेत्रमा अहिले पनि किसान रोपाइँमा व्यस्त छन् ।
उनका अनुसार स्याङ्जाको उत्तरी भेगमा असारभित्रै रोपाइँ सम्पन्न गर्ने परम्परा रहेकाले त्यहाँ काम सकिएको हो । तर, दक्षिण–पश्चिमी क्षेत्रमा साउनको मध्यसम्म पनि रोपाइँ गर्ने चलन रहेकाले केही ठाउँमा अझै खेत रोप्ने काम जारी छ ।
कृषि प्राविधिकबाट प्राप्त विवरणका आधारमा जिल्लाभर औसतमा ८२.२९ प्रतिशत रोपाइँ सम्पन्न भएको कार्यालयले जनाएको छ । मौसम अनुकूल रहेकाले बाँकी क्षेत्रको रोपाइँ पनि केही दिनभित्रै सकिने अपेक्षा गरिएको कृषि अधिकृत पाठकले बताए ।
यस वर्ष निरन्तर वर्षा भइरहेकाले अधिकांश धानखेती क्षेत्रमा सिँचाइको समस्या नभएको कार्यालयको भनाइ छ ।













