पहिरोले थुनियो सेती नदी : जोखिम न्यूनीकरण र पुनर्निर्माणका काम तत्काल अघि बढाउन कास्की प्रशासनको निर्देशन

केन्द्रभाग मिडिया

तस्बिर : नेपाल फोटो लाइब्रेरी

पोखरा ।

निरन्तरको वर्षाका कारण खसेको पहिरोले पोखराको सेती नदी थुनिएको छ । पोखरा महानगरपालिका–१५ र १७ सिमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो ।

पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ल प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलगायतको टोली आइतबार बिहान निरीक्षणमा पुगेको थियो ।

सेती नदीमा चट्टानसहितको पहिरो खसेर नदीको बहाव प्रभावित भएपछि जोखिम न्यूनीकरण, क्षति मूल्यांकन र पुनर्निर्माणका काम तत्काल अघि बढाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सहायक सीडीओ चित्रांगत बरालका अनुसार निरीक्षणका लागि तत्काल ठूलो जोखिम नदेखिए पनि प्रविधिक रूपमा अध्ययन र नियन्त्रणको जिम्मेवारी दिइएको हो । सशत्र प्रहरी बलले ड्रोनमार्फत जोखिम देखिएको ठाउँको अध्ययनसमेत गर्ने उनले बताए ।

जिल्ला सुरक्षा समितिको साउन ३ गते बसेको बैठकका निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयले पोखरा महानगरपालिका, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना तथा अन्नपूर्ण गाउँपालिकालाई छुट्टाछुट्टै पत्राचार गरेको हो ।

प्रशासनले पोखरा महानगरपालिका र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनालाई पठाएको पत्रमा सेती नदीमा चट्टान र गेग्रानसहितको पहिरो खसेर नदीको बहावमा अवरोध भएको विषयमा तत्काल आवश्यक प्राविधिक अध्ययन गर्न निर्देशन दिएको छ।

पत्रमा नदी किनारामा परेको तत्कालीन प्रभाव, सम्भावित जोखिम क्षेत्रको पहिचान, दीर्घकालीन असर, जोखिम न्यूनीकरणका उपाय तथा भविष्यमा अपनाउनुपर्ने कार्ययोजनासहित विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न भनिएको छ ।

त्यसका साथै सिँचाइ आयोजना र पोखरा महानगरपालिकाले आपसी समन्वयमा जोखिम न्यूनीकरणका काम अघि बढाउने, निर्णय कार्यान्वयनको अवस्थाको निरन्तर अनुगमन (फलोअप) गर्ने र आवश्यक रोकथामका उपाय कार्यान्वयन गर्न प्रशासनले निर्देशन दिएको छ ।

यस्तै, अन्नपूर्ण गाउँपालिकालाई पठाइएको अर्को पत्रमार्फत स्थानीय विपद् व्यवस्थापन समितिबाट बाढी र पहिरोबाट पुगेको क्षतिको विस्तृत विवरण, राहत तथा पुनर्निर्माणका लागि आवश्यक प्राविधिक लागत अनुमानसहितका कागजात जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमोदन गराई पठाउन अनुरोध गरिएको छ ।

प्रशासनले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई छिटो अगाडि बढाउन तथा सबै निकायबीच समन्वय गरेर जोखिम न्यूनीकरणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

  • ३ श्रावण २०८३, आईतवार १५:३४ प्रकाशित