ब्लड क्यान्सर प्रभावित युवालाई युनाइटेड क्लब पोखराको आर्थिक सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।
शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण तथा विपदमा परेकाहरूलाई सहयोग गर्दै आइरहेको युनाइटेड क्लब पोखराले ल्युकेमिया ब्लड क्यान्सरबाट प्रभावित एक युवालाई आर्थिक सहयोग प्रदान गरेको छ । सामाजिक सेवाका विभिन्न क्षेत्रमा क्रियाशील क्लबले पोखरा महानगरपालिका वडा नम्बर १३ निवासी ल्युकेमिया ब्लड क्यान्सरबाट प्रभावित हसन अली मियाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नगद सहयोग प्रदान गरेको हो ।

क्लबका अध्यक्ष गणेश तिमिल्सिनाको नेतृत्वमा उक्त आर्थिक सहयोग प्रदान गरिएको हो । सो अवसरमा बोल्दै युनाईटेड क्लब पोखराका अध्यक्ष गणेश तिमिल्सिनाले युनाईटेड क्लब पोखराले स्थापना कालदेखि पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरि महोत्सवबाट बचत भएको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्र्धन, सेतीनदी संरक्षण र विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहदा पोखरा १३ निवासी हसन अलि मियालाई गरेको सानो सानो सहयोगले उपचारमा थोरै भएपनि राहत हुने बताए । त्यसैगरी तिहारको समयमा क्लबले विपद ब्यवस्थापन कोष सञ्चालनका लागि देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आइरहेको र आगामी कार्तिक २३ गतेको देउसीभैलो कार्यक्रममा समेत सहभागी हुन अग्रह गरे ।

कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष शान्तबहादुर थापा, प्रथम उपाध्यक्ष सूर्यबहादुर बानियाँ, द्धितिय उपाध्यक्ष तथा स्वास्थ्य संयोजक दिनेश सुनार, महासचिव सन्तोष कार्की, कोषाध्यक्ष जयराम आचार्य, सदस्य कृष्ण गौतमलगायतको सहभागिता रहेको थियोे । विशेषगरी आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग गर्नु मानवीय दायित्व भएको भन्दै क्लबले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको कार्यक्रम संयोजक तथा क्लबका द्धितिय उपाध्यक्ष दिनेस सुनारले बताए ।

ब्लड क्यान्सरजस्तो जटिल रोगको उपचारमा ठूलो आर्थिक भार पर्ने भएकाले क्लबले प्रदान गरेको सहयोगले रोगबाट प्रभावित सहन अलि मिया तथा उनको परिवारलाई केही राहत पुग्ने उनको विश्वास रहेको छ । आगामी दिनमा समेत मानवीय सेवा, सामाजिक उत्तरदायित्व र समुदायको हितमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने उद्देश्य क्लबले राखेको छ ।

  • १९ कार्तिक २०८३, बिहीबार १९:४० प्रकाशित