पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

पर्साको पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा ७ जना महिला घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण ७ जना महिला घाइते भएका हुन् ।

घाइते हुनेहरूमा पर्साको पकहामैनपुर गाउँपालिका–०१ बस्ने अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिकादेवी सहनी, ५५ वर्षीया रितादेवी सहनी, ५२ वर्षीया कुश्मीदेवी सहनी, ४२ वर्षीया सन्ध्यादेवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी रहेका छन् ।

घाइतेहरूमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अन्य ६ जना घाइतेहरूको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये कुश्मीदेवी सहनीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य ५ जनाको अवस्था मध्यम रहेको छ । घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

  • ३२ असार २०८३, बिहीबार १४:३८ प्रकाशित