हेटौँडा ।
केन्द्रीय तहमा नेपाली कांग्रेस र नेकपा एमाले बिचको सत्ता साझेदारी टुटेपछि बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केन्द्रीय तहमा सत्ता समीकरण परिवर्तन पछि बागमती सरकारबाट एमालेका ६ मन्त्री फिर्ता हुने भएका हुन् ।
एमालेका मन्त्रीहरूले दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक पछि राजीनामा दिने तयारी गरेका छन् । बिहीबार पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मन्त्री एवम् एमाले नेता किरण थापा मगरले क्याबिनेटपछि राजीनामा बुझाउने तयारी भएको बताए ।
शीर्ष तहमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एमालेका मन्त्रीहरूसँग राजीनामा माग्ने तयारी गरेका छन् । सोही अनुसार एमालेका मन्त्रीहरूले पनि राजीनामा गरेर नयाँ सरकार वा मन्त्रिपरिषद् गठनमा मार्ग प्रशस्त गर्ने तयारी गरेको उनले बताए ।
उनका अनुसार बागमती सरकारको मन्त्रिपरिषद् व्यवस्थापनको लागि पनि आज एमालेले सबै मन्त्रीहरूलाई फिर्ता गर्ने अवस्था रहेको थियो । सबै मन्त्री फिर्ता गरेर ८ मन्त्रालयको भागबन्डा अनुसार पुनः नयाँ मन्त्रीहरूलाई पठाउने गरी एमालेले तयारी गरेको थियो । तर, गठबन्धन नै परिवर्तन भएपछि पार्टीको निर्देशन अनुसार एमाले सरकारबाट अलग हुने अवस्था बनेको उनले बताए । सबै मन्त्रीहरूले सोही अनुसारको तयारी गरेको उनको भनाइ छ ।
सरकारमा एमालेबाट स्वास्थ्य मन्त्री थापा सहित कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा।दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ रहेकी छिन् ।













