बालेन सरकारप्रति रास्वपा सभापति लामिछाने असन्तुष्ट !

जनमत पाएपछि मात्तिन नहुने भनाई, शक्तिको दम्भ त्याग्न सुझाव

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार र पार्टीका नेताहरूको कार्यशैलीप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन् । जनताले दिएको ठूलो जनमतलाई शक्तिको दम्भ देखाउने अवसरका रूपमा नलिन चेतावनी दिँदै उनले प्रधानमन्त्री शाहलाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न आग्रह गरेका छन् ।

शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले जनताले दिएको १८२ सिटको जनमतअनुसार पार्टी र सरकारको व्यवहार हुन नसकेको टिप्पणी गरे । जनताले ठूलो विश्वास गरेर जिम्मेवारी सुम्पिए पनि पार्टीका नेताहरूमा अहंकार बढेको भन्दै उनले आफ्नै पार्टीका नेताहरूलाई आत्मसमीक्षा गर्नसमेत आग्रह गरे ।

‘हामी खरो उत्रिएका छौँ र रु जनताले १८२ सिट दिएको छ, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ,’ उनले भने, ‘यसरी हुँदैन, माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ। हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ ।’

लामिछानेको अभिव्यक्ति प्रधानमन्त्री शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति लक्षित देखिएको छ। उनले जनताले दिएको मतलाई सत्ता र शक्तिको उन्मादका रूपमा प्रयोग गर्न नहुने भन्दै सरकारलाई आफ्नो व्यवहार सच्याउन सचेत गराए।

समाजले सरकार र राजनीतिक नेतृत्वको कामकारबाहीलाई निरन्तर मूल्यांकन गरिरहेको उल्लेख गर्दै उनले आलोचना गर्ने नागरिकमाथि नै आक्रामक हुनु राजनीतिक संस्कार नभएको बताए।

‘हाम्रो व्यवहार, हाम्रा गतिविधि, हाम्रा तौरतरिका समाजले विश्लेषण गर्छ। विश्लेषण गर्ने समाजमाथि जाइलाग्नु सही बाटो हुँदैन। समाजले हामीलाई ऐना देखाएको छ,’ उनले भने, ‘ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन।’

जनताले अत्यधिक मत दिएर पठाउनुको अर्थ नेताहरूले ठालु पल्टिन पाउने छुट पाउनु नभएको उनको भनाइ थियो। बरु ठूलो जनमतले अझ बढी जिम्मेवार र जवाफदेही भएर काम गर्नुपर्ने दायित्व थपेको उनले स्पष्ट पारे।

‘जनतालाई असहज लाग्ने हाम्रा गतिविधिहरू स्वीकार्य हुँदैनन्। जनताले अत्यधिक मत दिएर पठाएको भनेको हामीलाई ठालु पल्टनका लागि होइन, अझ बढी सेवा गर भन्नका लागि हो,’ उनले भने, ‘जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला। पार्टीले नियालिरहेको छ।’

लामिछानेले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरिएको विषयमा समेत असन्तुष्टि व्यक्त गरे। बिहीबार चितवन पुगेका उनले आईजीपी कार्कीको जिम्मेवारी हेरफेर गर्नुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने बताएका थिए। शुक्रबार पनि उनले शक्तिको प्रयोगमा संयमता अपनाउन सरकारलाई सचेत गराए।

प्रधानमन्त्री शाहको नाम नलिई उनले सिंहदरबारमा बसेर राज्यशक्तिको दुरुपयोग गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए। प्रहरी, प्रशासन र राज्यका निकायलाई आफ्नो नियन्त्रणमा रहेको ठानेर दम्भ देखाउनु गलत हुने उनको टिप्पणी थियो।

‘जब तपाईंलाई सर्वाधिक शक्ति मिल्दछ, त्यतिबेला नै तपाईंले सर्वाधिक जिम्मेवार भएको महसुस हुने गरी आफ्ना अभिव्यक्ति र क्रियाकलाप गर्न जरुरी हुन्छ। इतिहासले त्यो माग्छ,’ उनले भने, ‘आज हामी ठूलो पार्टी भयौँ, हाम्रा हातमै पुलिस छन्, हाम्रै हातमा सीडीओ छन्, हाम्रै हातमा सबै छन् भन्ने दम्भ त्याग्नुपर्छ।’

लामिछानेको पछिल्लो अभिव्यक्तिले रास्वपाभित्रै सरकारको कार्यशैली र नेतृत्वको व्यवहारलाई लिएर असन्तुष्टि रहेको संकेत गरेको छ। विशेषगरी प्रधानमन्त्री शाहको कार्यशैली, जनमतअनुसारको जवाफदेहिता र प्रहरी नेतृत्वको जिम्मेवारी हेरफेरजस्ता विषयमा पार्टी सभापतिले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

  • २० कार्तिक २०८३, शुक्रबार १९:५३ प्रकाशित