पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने काम नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यले गरेको बताएका छन् । राष्ट्रिय चेतनाका अग्रदूत तथा नेपाली भाषिक एकताका प्रणेता भानुभक्त आचार्यको २१३ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान, पोखराले आयोजना गरेको विशेष समारोहमा प्रदेश प्रमुख भट्टले यस्तो बताएका हुन्।
नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण भूमिका खेलेका भानुभक्त नेपाल र विश्वभरका नेपालीभाषी रहेका क्षेत्रमा हाम्रो भाषा तथा साहित्य फैलाउन सेतु बन्नुभएको उनको भनाई छ ।
‘भानुको साहित्यिक योगदानले भाषा र समाजबीचको सम्बन्धलाई सुदृढ बनाउँदै नेपालीपनको साझा भावना निर्माणमा उल्लेखनीय भूमिका खेलेको छ । भानुभक्तले नेपालीलाई एउटै भाषिक सूत्रमा बाँध्ने प्रेरणा दिए ।’ उनले भने – ‘भानुको योगदानले राष्ट्रिय एकता, सांस्कृतिक आत्मविश्वास र नेपालीपनको भावनालाई अझ बलियो बनाएको छ । आज विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले पनि नेपाली भाषा र साहित्यलाई जीवित राखिरहेका छन् । यो आदिकविको योगदानको निरन्तरता नै हो ।’

भानुले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा रूपान्तरण गरी साहित्यलाई जनसामान्यको जीवनसँग जोडेको हुँदा यही ऐतिहासिक योगदानले नेपाली भाषालाई साझा सांस्कृतिक चेतनाको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गरेको उनको भनाई छ ।
उनले थपे – ‘भानुभक्तका कृतिहरूमा केवल धार्मिक भावनाको अभिव्यक्ति मात्र छैनस त्यहाँ नैतिकता, मानवता, सामाजिक उत्तरदायित्व, कर्तव्यबोध र लोककल्याणको गहिरो चेतना पनि अभिव्यक्त भएको पाइन्छ ।’
आजको पुस्ताले भानुभक्तलाई केवल पाठ्यपुस्तकभित्र सीमित राख्न नहुने बताउँदै उनका कृतिहरूलाई डिजिटल माध्यम, अनुसन्धान, अध्ययन, साहित्यिक विमर्श र सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पुर्याउनु आवश्यक रहेकोमा जोड दिए।
गण्डकी प्रदेश नेपाली भाषा, साहित्य, कला र संस्कृतिको दृष्टिले अत्यन्त समृद्ध प्रदेश रहेको बताउँदै उनले यस प्रदेशमा रहेका साहित्यिक संस्था, अनुसन्धान केन्द्र, शैक्षिक प्रतिष्ठान र स्रष्टाहरूले भाषा तथा साहित्यको संरक्षण र प्रवद्र्धनमा निरन्तर योगदान पुर्याइरहेकोमा खुशी पनि व्यक्त गरे ।
आयोजक भानु वाङ्मय प्रतिष्ठानले नेपाली भाषाको उन्नयन र सम्वर्द्धनका लागि नेपाली विषयमा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरी प्रेरणा जगाउने काम गर्दै आएकोमा आभार पनि व्यक्त गरे।












