पोखरा ।
पोखरा १५, गोलेश्वर मार्गस्थित शिवशक्ति तमु समाजमा सञ्चालित १५ दिने हस्तकला तालिम तथा मनोसामाजिक सुस्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ । जर्मन दूतावास र सीप हस्तान्तरणद्वारा सशक्तिकरण (नेस्ट) पोखराको सहकार्यमा सञ्चालित पोखरामा रहेका अव्यवस्थित बस्तीका लागि जीविकोपार्जन तालिम तथा शैक्षिक सामग्री सहयोग परियोजना अन्तर्गतको सो कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले अव्यवस्थित बस्तीका महिलाहरूलाई सीपसँग जोड्ने यस्ता कार्यक्रमले समुदायको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए । उनले सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोड्न सकेमा मात्र तालिमको वास्तविक सार्थकता पुष्टि हुने धारणा राखे । वडा कार्यालयका तर्फबाट यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तर सहयोग र समन्वय गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
समापन कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि एवं नेस्ट पोखराका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जर्मन दूतावासको सहयोगमा सञ्चालित यस परियोजनाले अव्यवस्थित बस्तीका नागरिकहरूको जीविकोपार्जन सुधारका साथै बालबालिकाको शिक्षामा समेत टेवा पुर्याउँदै आएको जानकारी दिए । सीप नै समृद्धिको आधार भएकाले सिकेको सीपलाई निरन्तरता दिन उनले सहभागीहरूलाई आग्रह गरे ।
कार्यक्रममा वडा नम्बर १५ का वडा सदस्यद्वय बलराम पौडेल र सेतीमाया गुरुङले समुदायस्तरमा सञ्चालित यस्ता कार्यक्रमले स्थानीय सरकारको लक्ष्य पूरा गर्न सघाउ पुर्याएको बताउँदै भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए । नेस्ट पोखराका कार्यसमिति सदस्य डा. पदमराज श्रेष्ठले सीप विकाससँगै स्वास्थ्य चेतनाको महत्त्वबारे प्रकाश पारे ।
समारोहमा शिवशक्ति आमा समूहकी अध्यक्ष वेलमाया गुरुङ र निर्मलटोल आमा समूहकी अध्यक्ष गीता प्रधानले मन्तव्य राख्दै यस्ता तालिमले महिलाहरूलाई घरधन्दाबाट बाहिर निस्केर आफ्नै पहिचान बनाउने अवसर दिएको बताए ।
समारोहको सुरुवातमा नेस्ट पोखराका सचिव कुम बहादुर गुरुङले स्वागत मन्तव्य राख्दै परियोजनाको उद्देश्य र उपलब्धिबारे जानकारी गराएका थिए । नेस्ट पोखराकी उपाध्यक्ष कमला देवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा कार्यक्रममा नेस्टका कार्यक्रम व्यवस्थापक हरि प्रसाद (सचिन) लुइटेल, शिवशक्ति तमु समाजका अध्यक्ष ईश्वर बहादुर गुरुङ, सुकुम्बासी व्यवस्थापन सङ्घर्ष सङ्गठन कास्कीका अध्यक्ष टेक बहादुर पुन, शिवशक्ति आमा समूहकी अध्यक्ष वेलमाया गुरुङ, निर्मलटोल आमा समूहकी अध्यक्ष गीता प्रधान, दलित समाजकी अध्यक्ष विष्णु माया परियारलगायतले तालिमको सान्दर्भिकताको बारेमा बोलेका थिए ।
तालिममा हस्तकला सीपका अतिरिक्त मनोसामाजिक सु-स्वास्थ्य सम्बन्धी सत्रहरू समेत सञ्चालन गरिएको थियो । आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका महिलाहरूले भोग्ने तनाव, चिन्ता तथा पारिवारिक समस्याहरूको सामना गर्न मनोसामाजिक परामर्शले सहयोग पुगेको सहभागीहरूको अनुभव छ । समापन समारोहमा तालिमका सहभागीहरूले आ(आफ्नो अनुभव सुनाउँदै तालिमबाट हस्तकला सीपका साथसाथै आत्मविश्वास र सामूहिक भावना विकास भएको बताए ।
अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका विपन्न तथा जोखिममा रहेका महिलाहरूलाई सीपमूलक तालिमका माध्यमबाट आयआर्जनसँग जोड्ने र मनोसामाजिक परामर्शमार्फत मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित उक्त तालिमले स्थानीय समुदायमा उत्साह र आत्मविश्वास थपेको सहभागीहरूले बताएका छन् ।
जर्मन दूतावासको आर्थिक सहयोग र नेस्ट पोखराको कार्यान्वयनमा सञ्चालित यस परियोजनाले पोखराका अव्यवस्थित बस्तीहरूमा जीविकोपार्जन तालिम र शैक्षिक सामग्री सहयोगमार्फत विपन्न समुदायको जीवनस्तर सुधारमा योगदान पुर्याउँदै आएको छ । सरोकारवालाहरूले यस्ता कार्यक्रमको निरन्तरता र विस्तारको आवश्यकता औँल्याएका छन् ।













