काठमाडौं ।
सरकारले विपद् कल सेन्टर सञ्चालनमा ल्याएको छ । देशका ७७ वटै जिल्लामा २४ सै घण्टा सञ्चालन हुने गरी विपद कल सेन्टर सञ्चालनमा ल्याइएको हो । मन्त्रिपरिषद्को १३ जेठ २०८२ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची अनुसार यो व्यवस्था गरिएको हो ।
सरकारको समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध (डेलिभरी-बेस्ड गभर्नेन्स) लागू गर्ने निर्णय बमोजिम ७७ वटै जिल्लाका आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूमा कल सेन्टर स्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ।
विपद् सम्बन्धी सूचना, समस्या, गुनासो र सुझावका लागि नागरिक तथा सेवाग्राहीले सम्पर्क गर्न सक्ने गरी यसअघि टोल फ्री नम्बर ‘११४९’ कार्यान्वयनमा रहेको थियो । केन्द्रिय स्तरबाट मात्र सम्बोधन हुने गरी उक्त नम्बर सञ्चालनमा रहँदा नागरिकले गर्ने फोनको सम्बोधन जिल्ला स्तरमै हुनुपर्ने आवश्यकता देखिएको थियो ।
मन्त्रालयले साविकको विपद् टोल फ्री नम्बर ‘११४९’ लाई परिवर्तन गरी ‘१२३४’ मा रूपान्तरण गरेको छ । यो नयाँ नम्बर २०८३ साल असार २६ गतेदेखि सञ्चालनमा आएको छ । यसमा आउने फोनलाई जिल्ला स्तरमा राउटिङ हुने व्यवस्था मिलाइएको छ । जसअनुसार सम्पर्ककर्ता रहेको जिल्लाकै जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र ९डीईओसी० मा फोन जाने व्यवस्था मिलाइएको छ ।
गृह मन्त्रालयले विपद् सम्बन्धी नेपाल सरकारबाट जारी हुने एडभाइजरीको अनिवार्य पालना गर्न, सतर्क रहन र सुरक्षित हुन समेत अनुरोध गरेको छ।












