काठमाडौं ।
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा रहेका दुई महिला र एक पुरुष नगर प्रहरीसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको छ ।उनीहरूलाई अहिले कालीमाटी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ । बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि दिउँसो साढे १ बजे आफ्नै शरीरमा आगो लगाउँदा मुगुका गणेश नेपाली गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आज निधन भएको हो ।
बिहीबार दिउँसो राहदानी विभाग अगाडि उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक गरेको थियो।
त्यसपछि केहीबेर सुरक्षाकर्मीसँग विवाद परेको र पछि उनले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेको आफन्तको दाबी छ। प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको बताएको छ ।












