खोटाङमा लेनदेनको विवादमा खुकुरी प्रहार गरी एकको हत्या, एक जना पक्राउ

केन्द्रभाग मिडिया

खोटाङ ।

खोटाङमा खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ का ३५ वर्षीय ध्रुव अधिकारीको हत्या आरोपमा सोही स्थानका ५३ वर्षीय तिलकबहादुर मग्राती पक्राउ परेका हुन्।

असार २५ गते दिउँसो लेनदेनको विषयमा कुरा गर्न अधिकारी मग्रातीको घरमा गएका थिए। सोही क्रममा उनीहरूबिच आपसी वादविवाद भएको थियो। विवाद बढ्दै जाँदा आवेगमा आएका मग्रातीले अधिकारीको टाउकोमा खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट अधिकारीको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरीले हत्यामा संलग्न मग्रातीलाई घटनामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिएको हो। हत्या आरोपमा पक्राउ परेका मग्रातीमाथि जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढिरहेको छ।

  • २६ असार २०८३, शुक्रबार १३:०२ प्रकाशित