पोखरा बसपार्कका सुकुमबासीहरुको पहिचान गर्न गठित समितिले बुझायो प्रतिवेदन : २३३ परिवारको अन्यत्र पनि भेटियो जग्गा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको केन्द्र भाग पृथ्वीचोकमा सुविधा सम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने पोखरा महानगरपालिकाको योजना क्रमबद्ध रुपमा अगाडि बढिरहेको छ।

यसबैबीच बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचान गर्न गठित समितिले नगर प्रमुख धनराज आचार्यलाई प्रतिवेदन बुझाएको छ । करिब डेढ महिना अध्ययन गरेर समितिले प्रतिवेदन तयार गरेको हो ।विभिन्न क्षेत्रका प्रतिनिधिहरु सम्मिलित समितिका संयोजक एवं पोखरा महानगर प्रशासन महाशाखा प्रमुख कृष्ण तिवारीले महानगर प्रमुख आचार्य समक्ष ६२७ पृष्ठ लामो प्रतिवेदन बुझाएका हुन् ।

कार्यक्रममा महानगर प्रमुख आचार्यले समितिमा रहेर कार्यसम्पादन गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रतिवेदनलाई महानगरले महत्त्वपूर्ण दस्तावेजका रुपमा ग्रहण गरेको र आवश्यक अध्ययन पश्चात उपयुक्त समयमा सार्वजनिक गर्ने जानकारी गराए ।

महानगरको प्रशासन महाशाखा प्रमुख एवं समितिका संयोजक तिवारीको नेतृत्वमा गठित समितिको अध्ययनले बसपार्क क्षेत्रका २३३ परिवारको अन्यत्र पनि जग्गा जमिन रहेको देखाएको छ । छानबिनका क्रममा वडा कार्यालयबाट सिफारिस भएका ५७४ निवेदनमाथि विस्तृत अध्ययन गरिएको थियो ।

समितिले जिल्ला प्रशासन कार्यालय र भूमि प्रशासन कार्यालयको सरकारी डिजिटल प्रणालीबाट अध्ययन गरेर प्रतिवेदन बनाएको हो । जिल्ला प्रशासन कार्यालयको केन्द्रीय नागरिकता सूचना प्रणाली र भूमि प्रशासन कार्यालयको भूमि अभिलेख सूचना प्रणालीमार्फत सम्बन्धित व्यक्तिहरूको विवरण भेरिफाइ गरिएको तिवारीले जानकारी दिएका छन् ।

यही विवरणबाट कतिपय आवेदकहरूको नाममा अन्यत्र जग्गा रहेको भेटिएको हो । अध्ययनका क्रममा सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई हटाउनुअघि उचित व्यवस्थापन गरिनुपर्ने माग राखेका छन् । उनीहरूले सम्भव भएसम्म वडा नम्बर ९ भित्रै वा पायक पर्ने ठाउँमा व्यवस्थापन प्याकेज ल्याउन अनुरोध गरेका थिए । उनीहरुको मागलाई समेत प्रतिवेदनमा सुझावका रुपमा पेस गरिएको छ ।

योसँगै महानगरपालिकाले सुकुमबासी व्यवस्थापनका लागि जग्गा खोजी गर्न छुट्टै समिति गठन गरेको छ । समितिले पहिलो चरणमा ६ ठाउँलाई सिफारिस गरेकोमा केही जग्गाहरु अन्य संघ संस्थाको लालपुर्जाभित्र पर्ने भएकोले पुनः सिफारिस गर्न समय थपिएको छ ।

वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा गठित समितिले थप जग्गाको खोजी गरिरहेको जनाएको छ । यस्तै, सिफारिस हुने जग्गाको प्राविधिक पक्ष अध्ययनका लागि इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा गठित अर्को समितिले पनि आफ्नो काम गरिरहेको महानगरले जनाएको छ ।

यसबाहेक न्यायिक निरुपणका लागि अर्को समिति पनि गठन भएको छ । नगर प्रमुख आचार्यलाई बुझाइएको प्रतिवेदन अब बस्ने महानगर कार्यपालिकाको बैठकमा छलफलका लागि पेस गरिनेछ । कार्यपालिकाले प्रतिवेदनमाथि आवश्यक छलफल गरी स्वामित्व ग्रहण गरेपछि सुकुमबासी व्यवस्थापन तथा बसपार्क क्षेत्रको जग्गा संरक्षणका लागि थप काम अघि बढाइने महानगरले जनाएको छ ।

 

  • २६ असार २०८३, शुक्रबार १२:३८ प्रकाशित