काठमाडौं।
आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि ज्यान गएको हो ।
यसअघि अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो । अस्पतालका चिकित्सकहरूले उनको अवस्थाका बारेमा निश्चित रूपमा केही भन्न नसकिने र जुनसुकै बेला पनि अवस्था बिग्रन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको थियो । आगोले अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्याएकाले उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनलाई वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’ मा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो ।
नेपालीको उपचारका लागि वीर अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा। पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष टोली परिचालन गरेको थियो । उक्त टोलीमा युनिट प्रमुख डा। अपार लामिछाने, क्रिटिकल केयरका डा। निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा। डा। रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू संलग्न थिए ।
बिरामीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी समेत गरिएको थियो । तर, स्वास्थ्य अवस्था स्थिर नभएका कारण उनलाई स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको थियो । चिकित्सकहरूको अथक प्रयासका बाबजुद अन्ततः उपचारकै क्रममा उनको निधन भएको हो ।












