सरकारले एकदिनमै गर्‍यो १७ अर्ब बढी भुक्तानी

केन्द्रभाग मिडिया

काठमाडौं ।

चालु आर्थिक वर्ष अन्तिम साता प्रवेश गर्नै लाग्दा सरकारले भुक्तानीको गति ह्वात्तै बढाएको छ ।

बुधबार एकदिनमै १७ अर्ब ९ करोड रुपैयाँ बराबर भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकबाट देखिएको छ । कानुन अनुसार आज सरकारले गर्ने भुक्तानीको चेक काटिसक्नुपर्छ । सोहीकारण अहिले भुक्तानी प्रणालीमा जाम हुने समस्या आएको छ ।

स्थानीय तहले सञ्चालन गर्ने सूत्र प्रणालीमा देशैभरि समस्या देखिएको छ । यस्तो समस्या भुक्तानी गर्ने अन्तिम दिन अझ बढी देखिने गर्छ । कार्यालयका अनुसार बुधबारसम्म कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड बराबर भएको छ ।

मंगलबार बजेट खर्च १५ खर्ब १४ अर्ब ८७ करोड बराबर थियो । पूँजीगत खर्च बुधबारसम्म लक्ष्यको ४० प्रतिशतमात्र छोएको छ । यस वर्ष कुल १ खर्ब ६३ अर्ब १७ करोड बराबर पूँजीगत खर्च भएको छ ।

सरकारले ४ खर्ब ७ अर्ब पूँजीगत खर्चको लक्ष्य राखेको छ । यस वर्ष कुल बजेट भने १९ खर्ब ६४ अर्बको कार्यान्वयन भइरहेको छ । राजस्व संकलन बुधबारसम्म लक्ष्यको ७८।१५ प्रतिशतमात्र भएको छ ।

कुल १४ खर्ब ८० अर्बको लक्ष्य राखिएको राजस्वमा संकलन भने ११ खर्ब ५६ अर्बमात्र भएको छ ।

  • २५ असार २०८३, बिहीबार १६:११ प्रकाशित