काठमाडौं ।
संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल–अधा २०२६ को अवसरमा १११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ ।परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । साथै यूएई सरकारको उक्त निर्णयप्रति आभार व्यक्त समेत गरिएको छ ।
विज्ञप्तिअनुसार परराष्ट्र मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष गरेको अनुरोधका आधारमा यूएई सरकारले १११ नेपाली कैदीलाई आममाफी दिने निर्णय गरेको हो ।
आममाफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू नेपाल फर्कन सक्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपाल र यूएईबीचको मैत्रीपूर्ण तथा सौहार्दपूर्ण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बन्दै गएको सन्दर्भमा यो आममाफीको निर्णयलाई सद्भावको महत्त्वपूर्ण प्रतीकका रूपमा लिइएको छ ।












