कांग्रेसको देउवा समूहको बैठक चुनदेवीमा सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४औँ महाधिवेशनबाट निर्वाचित आफ्नो समूहका पदाधिकारी र सदस्य तथा पूर्वपदाधिकारी र सदस्यहरूको बैठक सुरु भएको हो ।

नेता डा।प्रकाशशरण महतका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक विवादमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । समूहको सम्पर्क कार्यालय सोमबारबाट नै बैठक बसेर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

सम्पर्क कार्यालयमा आज काठमाडौँमा उपस्थित नेताहरूको बैठक बस्ने डा.महतले जानकारी दिए ।

विस्तारित बैठकपछि समूहले काठमाडौँमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ । तर, त्यो भेलाभन्दा अगाडि नै संस्थापन पक्षले मागका बारेमा गहन छलफल अगाडि बढाउनुपर्ने समूहको भनाइ छ ।

पछिल्लो समय कांग्रेसमा देखिएको आन्तरिक विवादका विषयमा दुवै पक्षबिच छलफल भए पनि टुङ्गोमा पुगेको छैन । इतर समूहले अघि सारेका माग सम्बोधन गर्ने विषयमा विधान बाधक रहेको संस्थापनले बताउँदै आएको छ ।

इतर समूहले भने आफूहरूले राखेका मागका बारेमा सभापति गगन थापा गम्भीर नभएको आरोप लगाउँदै आएको छ ।

  • २२ असार २०८३, सोमबार १५:०५ प्रकाशित