जनकपुर ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्नो कार्यशैली नसच्याए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन कांग्रेस बाध्य हुने भन्दै यस्तो चेतावनी दिएका हुन् ।
पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा नै संशय उत्पन्न भएको भन्दै सरकारले निर्वाचनको तयारी र प्रतिबद्धता स्पष्ट पार्नुपर्ने धारणा राखे । निर्धारित समयमा निर्वाचन नगरेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचन दलीय प्रतिस्पर्धाबिना स्वतन्त्र उम्मेदवारबिच मात्रै गराउने सोच सरकारको भए संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि सरकारले कुनै गृहकार्य नगरेको टिप्पणी गरे ।
उनले स्वतन्त्र उम्मेदवारबिच मात्रै प्रतिस्पर्धा हुने व्यवस्था ल्याउन संविधान संशोधन आवश्यक पर्ने तर सरकारले त्यसका लागि कुनै तयारी नगरेको दोहोर्याए । सरकारको वास्तविक योजना र उद्देश्यबारे स्पष्टता आवश्यक रहेको उनको जिकिर छ ।
कांग्रेस तत्काल सडक आन्दोलनमा जान नचाहेको तर सरकारको हठ र अलोकतान्त्रिक व्यवहार जारी रहे लोकतन्त्र जोगाउन जुनसुकै सङ्घर्ष गर्न तयार रहेको पौडेलले स्पष्ट पारे ।
सरकारले नागरिकका आवाज र असहमतिलाई सुन्नुपर्ने भन्दै उनले सडकमा उभिएर आफ्ना कुरा राख्ने तथा सडकमा नआई पनि आफ्ना आवाज सरकारसम्म पुर्याउन सक्ने वातावरण बनाउनुपर्ने बताए । पौडेलले लोकतन्त्रको रक्षा र समयमै निर्वाचन सम्पन्न गर्नु नै कांग्रेसको अहिलेको प्रमुख सरोकार रहेको प्रस्ट्याए ।
अझै पनि सरकार सच्चिएर सही बाटोमा आउने विश्वास आफूहरूमा रहेको उल्लेख गर्दै उनले त्यसो नभए लोकतन्त्र रक्षाका लागि अन्य शक्तिसँग सहकार्य गरेर आन्दोलनमा उत्रिने चेतावनी दिए ।













