रास्वपामा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका हरेक समिति, विभाग र निकायहरूमा कम्तीमा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
चितवनमा भएको प्रथम महाधिवेशनले पारित गरेको संशोधित विधानमा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित गरेको हो ।

‘पार्टीको हरेक साङ्गठनिक संरचनालाई नेपाली समाजको सुन्दर विविधताको वास्तविक ऐना बनाइनेछ । पार्टीका सम्पूर्ण तहका समिति, विभाग र निकायहरूमा कम्तीमा ३३ प्रतिशत महिला र कम्तीमा ३३ प्रतिशत युवाको अर्थपूर्ण प्रतिनिधित्व अनिवार्य गरिनेछ’, विधानमा भनिएको, ‘यसका अतिरिक्त, देशको भूगोल, जनसङ्ख्याको अनुपात र विभिन्न सामाजिक समुदाय (क्लस्टर) को विशिष्ट यथार्थलाई सम्बोधन गर्दै सबै वर्ग, क्षेत्र र सीमान्तकृत समुदायको समन्यायिक प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।’

यसैगरी समानुपातिकमा ‘एक व्यक्ति, एक अवसर’ व्यवस्था गरिएको छ । राज्यको पिँधमा रहेका सीमान्तकृत र अल्पसङ्ख्यक समुदायलाई नेतृत्वमा ल्याउन समावेशिताको सिद्धान्त अपनाइने तर समानुपातिक प्रतिनिधित्वको अवसर वितरण गर्दा सीमित व्यक्तिको कब्जाबाट मुक्त राख्न ‘एक व्यक्ति, एक पटक मात्र’ को नीति लागू गरिने विधानमा व्यवस्था छ ।

  • २२ असार २०८३, सोमबार १४:०६ प्रकाशित