धनगढी ।
बैतडीमा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दशरथ चन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ गैराखानमा शुक्रबार दिउँसो करिब ३ बजे धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ख ३९६३ नम्बरको बस दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाएका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।












