रोपाइँ महोत्सवको तयारी पूरा, कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने

केन्द्रभाग मिडिया

 

पोखरा ।

पोखरामा आयोजना हुने २१ औँ असारे रोपाइँ महोत्सव–२०८३ ले कृषि पर्यटनको प्रवर्द्धन, स्थानीय संस्कृति संरक्षण तथा लेखनाथ क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने सरोकारवालाहरूले बताएका छन् ।

पोखरा पर्यटन परिषद्ले महोत्सवको तयारीबारे जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले रोपाइँ महोत्सवले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले महोत्सव कुनै एक संस्था वा समुदायको मात्र नभई सबैको साझा अभियान भएको उल्लेख गर्दै पोखराका अन्य प्राकृतिक सम्पदाहरूको समेत प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको बताए ।

‘फेवातालको जस्तै पोखराका अन्य ताल तथा पर्यटकीय गन्तव्यहरूको पनि प्रवर्द्धन हुनुपर्छ। यस्ता महोत्सवले त्यसमा महत्वपूर्ण सहयोग पुर्‍याउँछन्,’ उनले भने।

महोत्सवका संयोजक तथा पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले महोत्सवको उद्देश्य, कार्यक्रम र तयारीबारे जानकारी गराउँदै कृषि र पर्यटनलाई जोडेर स्थानीय उत्पादन, संस्कृति तथा जीवनशैलीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार ‘पोखरा सबै मौसमका लागि’ भन्ने अभियानलाई थप प्रभावकारी बनाउन पनि महोत्सवले भूमिका खेल्नेछ ।

कार्यक्रममा पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कँडरियाले रोपाइँ महोत्सवले लेखनाथ क्षेत्रको प्रचार–प्रसार तथा आर्थिक गतिविधि विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। कृषि र पर्यटनको संयोजनबाट स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित हुने उनको भनाइ थियो ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली तथा कृषि सञ्जाल पोखरा–३० का संयोजक बाबुराम ढकाल लगायतले महोत्सवको महत्वमाथि प्रकाश पार्दै कार्यक्रम सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन महोत्सव संयोजक जीवनराज सापकोटाले गरेका थिए।

परिषद्का अनुसार असारे रोपाइँ महोत्सवले कृषि संस्कृतिको संरक्षण, ग्रामीण पर्यटनको प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। महोत्सवमा रोपाइँ प्रतियोगिता, हिलो खेल, सांस्कृतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिनेछन् ।

  • १० असार २०८३, बुधबार ११:१३ प्रकाशित